काठमाडौँ: बुधबारको शेयर कारोबारमा नेप्सेको शेयर कारोबार प्रणाली टिएमएसमा समस्या आउँदा एक घण्टा बढी नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को कारोबार रोकिएको भएपनि ५६ करोड बराबरको कारोबार भएको छ ।
मंगलबारदेखि कम्पनीको शेयरमूल्य घट्न थालेपछि बिक्री चाप देखिएको छ । तर शेयर खरिद गर्नेहरुले अनलाइन अर्डर नराखी बिक्री अर्डरमा राखेका शेयर धमाधम उठाउन थालेका छन् । जसले गर्दा मार्केटडेप्थमा खरिदकर्ता नदेखिए पनि निफ्राको उच्च कारोबार भएको छ ।
बुधबारको बजारमा सबैभन्दा धेरै कारोबार हुने नेपाल बैंकको ५८ करोड बराबरको कारोबार हुँदा दोस्रो उच्च कारोबार हुने निफ्राको ५५ करोड ९९ लाख बराबरको कारोबार भएको छ । यसदिन निफ्राको ९ लाख ९२ हजार कित्ता शेयर किनबेच भएको छ । मंगलबार निफ्राको १० लाख ८१ हजार कित्ता शेयर ७३ करोड ९४ लाख बराबरको शेयर किनबेच भएको थियो ।
कारोबार चलिरहँदा कारोबार प्रणालीमा समस्या आएपछि लगानीकर्ताहरुले आक्रोश व्यक्त गरेका छन् । शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले बजार घट्दा सिस्टममा खासै समस्या देखिँदैन जब बजारमा सकारात्मकता देखिन्छ र जब एउटा लय समात्न खोज्छ त्यो समयमा सिस्टममै गडबढी किन भई रहन्छ ? आक्रोश व्यक्त गरे ।
उनी थप प्रश्न गर्छन्, ‘यो नियती कहिले सम्म भोगि रहनुपर्ने हो लगानिकर्ताले ? नियामकको जिम्मेवारी बन्दैन र यसको जवाफदेहिताको दिनुपर्ने उनको भनाई छ ।
यस दिन शेयर बजारको परिसूचक नेप्से १२.५६ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २५९९ अंकमा उक्लिएकोे छ।
६ अर्ब ७० करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा बैंकिङ, ब्यापार, होटल, विकास बैंक,फाइनान्स,निर्जीवन बीमा, माइक्रोफाइनान्स,जीवन बीमा र उत्पादन समूह बढेका छन् । जलविद्युत र अन्य समूह घटेका छन् ।