काठमाडौं: संसदीय समितिले पोखरा क्षेत्रीय विमानस्थल नजिक रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ।
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याहरुको सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरेपछि विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानी डाँडा कटान ६ महिनाभित्र गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो।
समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको बताइन। उनले भनिन् ‘आजको छलफलमा पर्यटन मन्त्रालयलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गरी प्रगति विवरण समितिमा पेस गर्न निर्देशन दिने निर्णय गरियो।’
समितिको बैठकले विमानस्थल भित्र निर्माण गर्न लागिएको हवाई इन्धन डिपो ६ महिना भित्र सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएको छ। सभापति भट्टले भनिन् ‘नेपाल आयल निगमको डिपो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिना भित्र काम सम्पन्न गरी समितिलाई जानकारी दिने निर्णय भयो।’
यस्तै पोखरा महानगरपालिकाको ल्याण्डफिल साइट सार्ने सम्बन्धमा समितिले महानगरपालिकासँग छलफल गर्ने निर्णय समेत गरेको छ। समितिले विमानस्थल निर्माणका बाँकी रहेका सबै काम समयमै सम्पन्न हुने अपेक्षा समेत गरेको छ।
