काठमाडौँ: सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी कसको हुने भन्ने विवादमा फागुन २० गते निर्णय दिने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी आफ्नो दलको नाम भएकाले एमाले र माओवादी केन्द्र मिलेर बनेको दललाई त्यो नाम दिन नपाइने भन्दै ऋषिराम कट्टेलले दिएको रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले सुनुवाइ गरिरहेको थियो।
उक्त रिटमाथि बहस सकिएपछि इजलासबाट फागुन २० गते निर्णय सुनाउने दिन तोकेको सर्वोच्च अदातलका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए।
आयोगले कट्टेलको पार्टीसँग नाम मिले पनि कोष्टकभित्र नेकपा लेख्ने गरी नयाँ दललाई मान्यता दिएको थियो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै पहिले आयोगमा निवेदन दिएका थिए।
आयोगले उनको निवेदनमाथि निर्णय गर्दा पनि नयाँ दलको नाम पनि कोष्टकमा नेकपा लेखेर मान्यता दिएपछि कट्टेलले २०७५ साल मंसिरमा रिट दिएका थिए।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको पेशी परेको छ।
यसअघि यो मुद्दामा १० पटक पेशी तोकिएको थियो।
पहिलोपटक कारण देखाऊ आदेश भएपछि संयुक्त इजलासमा पुगेको यो रिटको सुनुवाइ २ पटक कट्टेल पक्षले, २ पटक विपक्षी, १ पटक महान्यायाधीवक्ता कार्यालयले स्थगित गरेका छन्।
एकपटक अन्य आदेश भएको छ भने २ पटक सर्वोच्च अदालतले हेर्न नभ्याएर पेशी सरेको छ।
नेकपा एमाले र माओवादी केन्द्रले एक भएपछि राख्ने भनेर रोजेको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ पहिला नै निर्वाचन आयोगमा दर्ता भएको भेटिएको थियो।
ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी गत मंसिर १० र २१ गते भएको निर्वाचनमा ‘घन र कोदालो’ चिन्ह लिएर सहभागी भएको थियो।
नेपाल कम्युनिष्ट पार्टी २०४८ साल अघि देखि नै आयोगमा दर्ता छ।
नेपाल कम्युनिष्ट पार्टीको नाम नेत्रविक्रम चन्द विप्लव समूहले पनि दाबी गर्दै आएको छ। चन्दले आयोगमा दल दर्ता गराएका छैनन्।