काठमाडौँ:
यस बर्ष फागुन २७ गतेका दिन “महाशिवरात्री तथा सेना दिवस-२०७७” को अवसरमा नेपाली सेनाले काठमाण्डौको सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा नेपाल भरि रहेका नेपाली सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव-युनिटहरुले पनि आ-आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रमहरु आयोजना गरि भव्यताका साथ मनाउने योजना रहेको छ ।
काठमाण्डौमा गत वर्ष ३६०० को संख्यामा नेपाली सेनाको जनशक्ति महाशिवरात्री तथा सेना दिवसको कार्यक्रममा सहभागी रहेकोमा यो वर्ष कोभिड-१९ का कारण जनशक्तिको सहभागिता संख्या २४०० रहनेछ भने सबै कार्यक्रमहरुमा स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डहरुको पूर्णरुपमा पालना गरिने छ ।
महाशिवरात्री तथा सेना दिवस २०७७ मा विगतका वर्षहरुमा भन्दा यस वर्ष कम फौज परिचालन गर्नुको साथै कोभिड-१९ को कारण श्री त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुने सांस्कृतिक तथा रात्रिभोज कार्यक्रम र विभिन्न सार्वजनिक स्थल तथा सपिङ्ग मलहरुमा Digital Screen Board मार्फत हुने प्रत्यक्ष प्रसारण नगरिने भएको छ ।
संचालन हुने कार्यक्रमहरु
मिति 2077/11/26 गते वीर स्मारक, छाउनीमा श्री प्रधान सेनापतिज्युबाट नेपाली सेनाका विरगति प्राप्त गर्ने सकलदर्जाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा वीरगति प्राप्त सकलदर्जाका एकल महिलाहरुलाई सम्मान गर्ने ।
मिति 2077/11/2७ गते सैनिक मन्च, टुँडिखेलमा हुने कार्यक्रमहरु:
(क) नेपाली सेनाका परमाधिपति सम्माननिय राष्ट्रपतिज्यूको प्रमुख आतिथ्यमा राईफल तथा तोपबाट बढाँई कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेट लगायत विभिन्न युनिटहरुबाट मार्चपाष्ट, बख्तरबन्द गाडी तथा विभिन्न हतियार तथा ईक्युप्मेन्टहरुको प्रदर्शन, ब्याण्ड डिस्प्ले, नेपाली सेनाका हेलिकप्टरहरुबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस-2077 लेखिएको ब्यानर प्रदर्शन र पुष्पबृष्टि तथा हवाइ जहाजहरुबाट Fly Past प्रदर्शन ।
(ख) सोहि समारोहमा राष्ट्रिय गौरवका सडक निर्माण आयोजनाहरु, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्षण, विश्व शान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापन सम्बन्धि विविध गतिविधिहरु झल्कने गरि झाँकी प्रदर्शन ।
(ग) आकर्षक सैनिक कलाहरुको प्रदर्शन अन्तर्गत नेपाली सेनाका Para Trooper हरुबाट फ्रि-फल जम्प लगायत खुकुरी ड्रिल।
(घ) नेपाली सेनाको कल्याणकारी कोषबाट ऋण सहयोग प्राप्त गरी कार्य गर्ने अवकाश प्राप्त उत्कृष्ट किसानलाई “प्रधान सेनापति उत्कृष्ट कृषक सम्मान”, उत्कृष्ट उद्यमीलाई “प्रधान सेनापति लघुवित्त उद्यमी सम्मान” र “सर्वोत्कृष्ट भुतपूर्व सैनिक सम्मान” प्रदान ।
(ङ) नेपाली सेनाको प्रकृति संरक्षण तथा युद्धकार्य तथा पेशागत निरीक्षण २०७७ मा उत्कृष्ट नतिजा हासिल गर्ने युनिटहरुलाई श्री प्रधान सेनापतिज्यूबाट ट्रफि तथा पुरस्कार प्रदान । त्यसै गरी पदोन्नती हुनेहरुलाई दर्ज्यानी चिन्ह तथा वर्ष भरी उत्कृष्ट कार्य गर्नेहरुलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान ।
(च) सम्माननिय राष्ट्रपति ज्युबाट “नेपाल एकिकरणको ईतिहास (1801-1872)”, “नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय” र “सिपाही बार्षिक-2077” को विमोचन तथा फ्रि-फल जम्पमा प्रथम र द्वितिय हुने सहभागीहरुलाई पुरस्कार वितरण ।
देशै भरिका नेपाली सेनाका युनिटहरुले फाल्गुन २६, २७ र २८ गते तीन दिन आ-आफ्नो युनिटहरुमा दिपावली मनाउने, वीरगति प्राप्त गर्नेहरुको सम्मानमा युनिटहरुमा रहेका ‘वीर स्मारिका’ मा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्ने, वीरगति प्राप्त सैनिकको एकल महिला तथा घाइते सैनिकहरुलाई आमन्त्रण गरि युनिटहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने तथा आ-आफ्नो जिम्मेवारी क्षेत्रमा स्वास्थ्य शिविर संचालन, मठ-मन्दिर तथा इलाका सरसफाई, रक्तदान कार्यक्रम, मैत्रीपुर्ण खेलकुदहरु संचालन, वृक्षारोपण लगायत अन्य विविध कार्यक्रमहरु संचालन गरी मनाउन लागिएको छ ।