काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल उद्योग परिसङ्घले अगाडि बढाएको ‘मेक इन नेपाल–स्वदेशी अभियान’ को सफलताको शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छलफलमा राष्ट्रपति भण्डारीले आफ्नो अन्तरआत्मामा लागेको विषयलाई परिसङ्घले उठाएकामा धन्यवाद व्यक्त गर्नुभएको परिसङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस अभियानलाई सफल बनाउनका लागि नेतृत्व वर्गबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक स्पष्टता हुनुपर्ने राष्ट्रपतिको भनाइ छ ।
निजी क्षेत्र र सरकारबीच औद्योगिक वातावरण र उद्योग विकासमा समान धारणाको विकास हुनुपर्ने उनको भनाइ थियो । सरकारले स्वदेशी उत्पादनलाई नै प्रवद्र्धन गर्नका लागि स्वदेशी सामानको खरिदमा १५ प्रतिशतसम्म महङ्गो भए पनि खरिद गर्ने व्यवस्था गरेको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आत्मनिर्भरता र अन्तर निर्भरता दुवै संस्कारको रुपमा अगाडि बढिरहेको धारणा राखिन् ।
राष्ट्रपतिबाट कतिपय उत्पादन देशका मौलिक पहिचानसँग सम्बन्धित भए पनि स्वदेशमा उत्पादन नभएको तर्क राख्दै उद्योगी व्यवसायीले त्यसतर्फ पनि ध्यान पुर्याउनु पर्ने सुझाव दिइन् । नेपालमा धेरै क्षेत्रमा दक्ष र अदक्ष कामदारको टड्कारो आवश्यकता देखिएको बताउँदै निजी क्षेत्रले दक्ष जनशक्ति उत्पादनमा समेत ध्यान पुर्याउनु पर्ने राष्ट्रपतिको भनाइ छ ।
परिसङ्घको अध्यक्ष सतीशकुमार मोरले परिसङ्घले अगाडि सारेको यो अवधारणामा सरकारको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै यस अभियानले आमजनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने बताए । अभियानले मुलुकको औद्योगिक विस्तार, थप रोजगारीको सृजना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन थप सहयोग पुर्याउनुपर्ने अध्यक्ष मोरको धारणा थियो ।
