काठमाडौँ: प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएको भोलिपल्ट आज शनिबार उनको तर्फ (ओली समूह) को संसदीय दलको बैठक बस्दै छ।
बैठक प्रधानमन्त्री निवास (बालुवाटार) मा बस्नेछ।
हिजो शुक्रबार प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठक राखेर यसअघिका दलका नेता ओलीलाई बर्खास्त गर्दै उनको स्थानमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ।
प्रचण्ड–नेपाल पक्षले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ।
उता ओली समूहले पनि ससंदीय दलमा आफ्नै बहुमत रहेको दाबी गरिरहेको छ।
आज बस्ने आफ्नो संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई आउन आग्रह गरेका छन्।
शुक्रबार साँझ भैंसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा निमन्त्रणा गरेका हुन्।
