काठमाडौँ: नेपाल आयल निमगले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले यहाँ पनि पेट्रोल, डिजेल मटितेल, र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।
मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ११८, डिजेल १०१ र मटितेल १०१ रुपैयाँ र हवाई इन्धन आन्तरिकको प्रतिलिटर ७४ रुपैयाँ पर्नेछ । हवाई इन्धन (अन्तर्राष्ट्रिय) र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखेको जनाएको छ ।
भारतीय आयल कर्पोरेसन्स (आइओसी) ले मार्च १६ मा पठाएको मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको छ । आईओसीबाट प्राप्त मूल्यसूचीको आधारमा इन्धनको साबिकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ बढाउने निर्णय भएको छ,’ उनले भने ।
मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा १ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ नोक्सान रहेको उनले जानकारी दिए । मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा र डिजेलमा ५ रुपैयाँ ८० पैसा तथा एलपी ग्यासमा ३९२ रुपैयाँ ८२ पैसा नोक्सान रहेको छ । मूल्य समायोजनपछि निगमको घाटा १ अर्ब २७ करोड ७० लाख रहने र सो रकम मूल्य स्थिरिकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने निगमले जनाएको छ ।
नेपालको पछिल्लो मूल्य समायोजनपछि पनि भारतरको सीमा जोडिएको वीरगञ्ज क्षेत्रमा पेट्रोल ३३.४२ रुपैयाँ र डिजेल ३९.६१ रुपैयाँ सस्तो रहेको निगमले जनाएको छ ।