काठमाडौँ: नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच आधारभूत सहमति जुटेको छ।
फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि दलहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने कसरत चलिरहेको छ। अब चाँडै नै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने नेताहरुले बताएका छन्।
सोमबारसम्म सरकारबारे अनिर्णित अवस्थामा रहेका दलहरु मंगलबार भने निष्कर्षमा पुगेको उनीहरुको भनाइ छ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लामो छलफलपछि तीन दलबीच सहमति जुटेको खुलासा गरे।
‘कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपासहितको सहभागितामा सरकार बन्ने निश्चित भएको छ,’ सप्तरी पुगेका नेता सिटौलाले भने, ‘यसका निम्ति सबै तयारी पुरा भएको छ।’
सिटौलाका अनुसार चैत महिनाभित्रै अर्को सरकार बन्नेछ।
माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले पनि चैत ५ गतेपछि कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपा सम्मिलित सरकार गठनको प्रक्रिया सुरु हुने बताए।
‘५ गते जसपाको बैठक छ, त्यो बैठकपछि यो सत्ता समीकरणले मूर्त रुप पाउँछ,’ पुनले भने, ‘माओवादी केन्द्र, कांग्रेस र जसपाबीच समीरकण बन्छ।’
पुनले तीन दलबीचको गठबन्धन प्राकृतिक रहेको पनि बताए।