काठमाडौँ:
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारीका कारण पार्टी संकटमा फसेको बताएका छन्। नेपाल-खनाल समूहको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्।
अहंकार र स्वेच्छाचारितामा डुबेर एमाले अध्यक्ष ओलीले मनपरीतन्त्र चलाउन थालेपछि अहिले सम्पूर्ण पार्टी नै संकटमा फसेको उनले उल्लेख गरे।
नेता खनालले एमाले अध्यक्ष ओलीले पार्टीलाई विभाजन र विसर्जनको दिशामा अगाडि बढाएको आरोप पनि लगाए।
‘सर्वोच्चको फैसलापछि तीन वर्षअघि एकीकरण भएका दुई पार्टी साविककै अवस्थामा पुगिसकेका छन्,’ उनले भने,‘नयाँ परिस्थितिमा केन्द्रीय कमिटी बैठक बोलाएर छलफल गर्नुपर्ने थियो। तर, उहाँले फागुन २८ गते गुटको भेला बोलाएर पार्टीलाई विभाजनको दिशामा अगाडि बढाउनु भएको छ।’
पार्टीभित्र गुटबन्दी सुरू गर्ने व्यक्ति ओली रहेको उनले आरोप लगाए। ओलीले गुटबन्दी सुरू गरेपछि पार्टीभित्र अनुशासन मिचिँदै गएको उनको भनाइ थियो।
‘पार्टीभित्र गुटबन्दी सुरू गर्ने अरू कोही होइन ओली हुन्, मदन भण्डारी फाउन्डेसनको नाममा उहाँले गुटबन्दी सुरू गर्नुभयो,’ खनालले भने,‘उहाँकै कारण पार्टीभित्र विधि र अनुशासन मिचिँदै गयो। पार्टीको राजनीतिक दिशामा पनि अगाडि बढ्न सकेन।’