काठमाडौँ: महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएका छन्। आयोमेललाई विशेष श्रोतबाट प्राप्त जानकारीअनुसार खरेलले आजैदेखि लागू हुनेगरि राजीनामा दिएका हुन्।
यता खरेलले पनि यसबारे जानकारी दिन दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन्।
राजीनामाबारे आयोमेलले राखेको जिज्ञासामा खरेलले भने, “१ बजे पत्रकार सम्मेलन छ, त्यहीँ आउनुस् न थाहा हुन्छ।”
सरकारका मुख्य कानुनी सल्लाहकारका रुपमा रहेका खरेल प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट रहेका थिए।
खरेलले संसद पुनःस्थापना भएलगत्तै राजीनामा दिने तयारी गरेका भएपनि नेकपा खारेजी र एमाले ब्यूँतिएपछिको राजनीतिक अवस्थाले राजीनामा दिएका थिएनन्।
खरेल २०७४ फागुन ८ गते महान्यायाधिवक्ताका रुपमा नियुक्त भएका थिए। उनी २०६४ र २०७० को संविधानसभा सदस्य रहेका थिए। प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा खरेल कानुनमन्त्री थिए।
