काठमाडौँ: पठाओ राइडरले यसअघि लगाउँदै आएको पठाओको लोगो अंकित ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन नपाउने भएका छन्। पठाओ नेपाल प्रालीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले सूचना जारी गर्दै पठाओको ज्याकेट र ट्राउजर नलगाउन आग्रह गरेका हुन्।
बस्नायतले पठाओको ज्याकेटकै कारण राइडरलाई असुरक्षा भएको तथा अफलाइट यात्रु बोक्ने प्रचलन बढेपछि राइडरलाई प्रोटेक्टिभ गेयर नलगाउने नियम ल्याएको बताए। उनले प्रशासनसँगको छलफलपछि पठाओको सेवालाई अझ व्यवस्थित, सुदृढ तथा सुरक्षित बनाउन प्रोटेक्टिभ गेयर नलाउन निर्देश भएकोले पठाओको लोगो वा ब्राण्ड प्रयोग गर्न मनाही गरिएको जानकारी दिएका छन्।
यदि कसैले प्रयोग गरे प्रशासनको कारबाहीको भागिदार हुने र कम्पनी जवाफदेही नहुने सूचनामा उल्लेख छ।
सोमबार बेलुकी काठमाडौंको नयाँ बसपार्कमा ट्याक्सी चालकको एक समूहले पठाओ चालकमाथि निर्घात कुटपिट गरेका थिए। आफूले भन्दा सस्तो भाडामा यात्रु चढाएको र अफलाइन यात्रु बोकेको भन्दै पठाओ राइडरमाथि आक्रमण भएको थियो। त्यसपछि, दुवै पक्षबीच झडपको अवस्था आउको थियो। नेपाल प्रहरीले मंगलबार दुवै पक्षलाई बोलाएर छलफल गरेको थियो।
