काठमाडौँ: काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ । वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् ।
केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीमा वायुको गुणस्तर सूचकांक ४७०, भक्तपुरमा ३०५ र सिमरामा २४८ पुगेको छ ।
सरकारले गत वर्ष स्वीकृत गरेको ‘काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना’ मा एक्युआई ३ सय नाघे विपद्को रूप लिने भनिएको छ । एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
विज्ञहरुका अनुसार एक्यूआई बढ्दै गएपछि जोखिम पनि बढ्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ । एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुन्छ ।
मुलुकका धेरै स्थानमा एकैपटक डढेलो लागेको र लामो समयदेखिको खडेरीका कारण वायुमण्डलमा प्रदूषण बढ्न गएको हो । बिहीबार एकैदिन ४७९ स्थानमा डढेलो लागेको थियो । डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले काठमाडौंको वरिपरीका सबै जिल्लामा डढेलो लागेको र पश्चिमबाट बगेको वायुले सोहोरेर काठमाडौं ल्याएकाले प्रदूषण बढेको बताए ।
‘लामटाङ निकुञ्जमा लागेको डढेलोको धुवाँ काठमाडौंसम्मै आएको देखिन्छ’, शुक्रबारदेखि गृह मन्त्रालय मातहतको ‘राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यस्थापन प्राविधिकरण’मा डढेलोविज्ञका रुपमा खटिएका शर्माले भने, ‘प्रदूषणमा धुवाँ मिसिएकाले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् ।’
जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले प्रदूषणका कारण भिजिबिलिटीसमेत घटेको जानकारी दिए । ‘वर्षा नभएसम्म यो प्रदूषणको तह घट्दैन’ उनले भने ।
लामटाङमा सन् २०१२ मा पनि ‘क्राउन फायर’ भएको थियो । त्यसले काठमाडौंसम्मै प्रदूषण बढाएको थियो । शर्माका अनुसार शुक्रबार पनि ५४ जिल्लाको ४३७ स्थानमा डढेलो लागिरहेको छ ।