काठमाडौँ: सरकारले कञ्चनपुरको महेन्द्रनगरमा भएको घटनालाई सुनियोजित र अनपेक्षित रुपमा सरकालाई बदनाम गर्न गरिएको षडयन्त्र भएको बताएको छ।
“कञ्चनपुरको महेन्द्रनगरमा हिजोमात्रै सरकारले घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन गरेको परिप्रेक्ष्यमा केही तत्वले परिस्थितिलाई उत्तेजक बनाउन खोजेकामा खेद व्यक्त गर्दै सरकारले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ,” सरकारका प्रबक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए ।
उक्त घटनाप्रति सरकार संवेदनशील रहेको र दोषीलाई कानूनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता पनि सरकारले व्यक्त गरेको छ, मन्त्रिपरिषद्को आजको बैठकमा उनले भने ।
आज भएको घटनामा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको छ। घटनामा अन्य पाँचजना पनि घाइते भएका छन् ।