काठमाडौँ: परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलामा आफूहरुको फरक राय भएपनि निर्णय मान्ने प्रतिक्रिया दिएका छन् ।
बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकपछि सर्वोच्चको फैसलाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले भने, ‘मैले भर्खर सुनेँ । आदेशको पूर्णपाठ हेर्न पाएको छैन । अदालतको फैसलाबारे सधैंभरी हाम्रो एउटै भनाइ छ, त्यसप्रति कतिपय हाम्रा फरक राय हुनसक्छन् । तर, अदालतको फैसलाको कार्यान्वय गर्नु हाम्रो कर्तव्य हो ।’
गैर सांसद मन्त्रीहरूले पुनः नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै बिहीबार सर्वोच्चले पद बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले मन्त्रीहरु रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी मणिचन्द्र थापा, दावा लामा तामाङ, टोपबहादुर रायमाझीको पद बदर गरेको हो ।
यस्तै, स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रणमा सरकारले गरेका कामबारे ब्रिफिङ गरेका थिए ।
‘अहिले कोभिड–१९ को नयाँ भेरियन्ट खतरनाक ढंगले अगाडि बढिराखेको छ । त्यसको विरुद्ध सरकारले गरेका कामबारे प्रधानमन्त्रीले बैठकलाई जानकारी दिनु भयो । बैठकले मूलतः तीन वटा सुझाव दिएको छ,’ प्रवक्ता ज्ञवालीले भने, ‘पहिलो भ्याक्सिन लगायत आवश्यक सामाग्रीहरुका लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न र सिघ्र आपूर्तिका लागि थप पहल गर्न । दोस्रो, तीनै तहका सरकारबीच समन्वय गरेर जान आवश्यक छ । त्यसका लागि नयाँ कानुन वा नयाँ संरचना बनाएर भएपनि प्रभावकारी ढंगले अगाडि बढ्नु पर्छ । तेस्रो, जनताको जिवन रक्षाका लागि कुनै पनि कमी रहन नदिन सुझाव दिएका छौं ।’