काठमाडौँ: विश्वकप एसियाली छनोटको समूह ‘बी’ मा अस्ट्रेलियाले बिहीबार राति कुवेतलाई ३–० ले हराएको छ ।
जितसँगै अस्ट्रेलियाले समूहको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । यो जितमा म्याथ्यु लेकी, ज्याकसन इरभान र एजडिन हुरसिकले गोल गरे ।
नेपाल सम्मलित यो समूहका प्राप्त जितपछि अस्ट्रेलियाको ५ खेलबाट अधिकतम १५ अंक भएको छ । त्यसपछि कुवेत र जोर्डन समान १० अंकमा छन् । नेपालको ६ अंक छ भने चिनिया ताइपेईले अहिलेसम्म खाता खोलेको छैन ।
एसियाली विश्वकपका बिहीबारका अन्य खेलमा इरानले हङकङलाई ३–०, बहराइनले कम्बोडियालाई ८–०, प्यालेस्टाइनले सिंगापुरलाई ४–०, कतारले भारतलाई १–० र यूएईले मलेसियालाई ४–० ले हरायो ।
यस्तै बंगलादेश र अफगानिस्तानले १–१ र थाइल्यान्ड र इन्डोनेसियाले २–२ को बराबरी खेले ।