काठमाडौँ: निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षले एक–अर्काविरुद्ध गरेको कारबाहीलाई मान्यता दिन नसकिने निर्णय गरेको छ । आयोगले दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्दै पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको हो ।
उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुरले उपेन्द्र यादवलाई निष्कासन गरेका थिए ।
पार्टीमा विवाद बढेपछि यादव र ठाकुरले एक अर्कामाथि कारवाही गरेका थिए । आयोगले दुई समुहले गरेका कारवाही कानूनसम्मत नदेखिएको ठहर गरेको छ ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार दलमा भएको विवरण हेरफेर गर्दा कुनै पनि अध्यावधिक गर्न नमिल्ने भएकाले यस्तो निर्णय गरिएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।