काठमाडौं: भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र मेलम्ची नगरपालिकालाई जनही ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने जनाएको छ ।
मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कार्यपालिकाको बैठकबाट नगरपालिकाको तर्फबाट सहयोग गर्ने निर्णय भएको बताएका हुन् । उक्त सहयोग रकम हस्तान्तरण गर्न उनी शनिबार आफै मेलम्ची जाने भएका छन्।
यसअघि, सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।
यस्तै, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले पनि हेलम्बु र मेलम्चीका बाढी प्रभावितक लागि १०÷१० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ भने काभ्रेको नमोबुद्ध नगरपालिकाले मेलम्ची नगरपालिकालाई ३ लाख ३ हजार ३३३ रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै घर डुवानमा परेको छ भने सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पु¥याएको छ ।
