काठमाडौं: बाढीका कारण जलविद्युत आयोजनामा पुगेको क्षतिको अध्ययन गर्न उच्चस्तरीय संयन्त्र बनाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानले माग गरेको छ।
यसै साता मुलुकका बिभिन्न जिल्लामा भएका बाढीपहिरोको घटनामा जलविद्युत आयोजनाहरुलाई क्षति पुगेको छ। निर्माणाधीन आयोजनामा क्षति पुर्याउँदा निर्माण अवधि कम्तिमा एक वर्ष लम्बिनुका साथै लागत समेत बढ्ने भएकाले आयोजनालाई राहत दिन उच्चस्तरीय संयन्त्र बनाएर अध्ययन गर्नुपर्ने इपान द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यसका लागि गृह, ऊर्जा र अर्थ मन्त्रालय सम्मिलित उच्चस्तरीय संयन्त्र निर्माणका लागि इप्पानले जोड दिएको छ।
गत सोमबारयता अविरल वर्षाका कारण नदीनालामा आएको अस्वभाविक तथा अत्यन्त भयानक बाढीपहिरोका कारण देशभरको जनजीवन प्रभावित हुनुका साथै धेरैजसो जलविद्युत आयोजना समेत प्रभावित भएको इपानले जनाएको छ।
प्राकृतिक प्रकोपमा परि घरबारविहीन भएकालाई साथ र सहयोग गर्न सबैमा आह्वान गर्दै संस्थाले १० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने समेत घोषणा गरेको छ।
उक्त बाढी पहिरोका कारण विभिन्न नदी वेसिनमा रहेका धेरै निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका जलविद्युत आयोजनाहरु तथा विभिन्न प्रसारण लाइनहरुमा ठूलो क्षति हुन गएकोमा इपानले गहिरो दुःख व्यक्त गरेको छ।
हाल ऊर्जा क्षेत्रमा भएको क्षतिलाई मध्यनजर गर्दै नेपाल सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना अगाडि बढाएको खण्डमा मात्र आयोजनाहरुलाई राहत हुने इप्पानको भनाइ छ। यसका लागि संस्थाले बुँदागत सुझाव दिएको छ।
