काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूले हालै निकालेको विज्ञप्तिबारे प्रष्टाएका छन्।
उनले परिस्थिति गम्भीर भएकोले त्यसबारे नेपाली जनतालाई जानकारी दिन विज्ञप्ति नै निकालेको बताए।
‘पाँच पूर्वप्रधानमन्त्रीहरूले स्थितिलाई जनतालाई नभन्ने हो भने कसले भन्छ?,’ बानेश्वरस्थित संघीय संसद भवनमा आज सम्पादकहरूसँग गरेको अन्तर्क्रियामा उनले भने, ‘नेपालबारे नेपालीले नै निर्णय गर्न पाउनुपर्छ।’
५ पूर्वप्रधानमन्त्रीले अपिल गर्दा प्रभावकारी हुने भएकोले विज्ञप्ति निकालिएको उनको भनाइ थियो।
प्रचण्डलगायत ५ पूर्वप्रधानमन्त्रीले विदेशी हस्तक्षेप भइरहेको संकेत गर्दै विज्ञप्ति निकालेका थिए।
‘यो उस्तै-उस्तै सिद्धान्तभन्दा बाहिर छ। उस्ताउस्तै भएको भए त हामीले पनि यस्तो बेलामा विदेशीको आशीर्वाद पाउन तँछाड-मछाड गर्थ्यौं होला त? होइन है चलखेल मानिँदैन भन्न किन जान्थ्यौं। हामीले कसैसँग दुश्मनी गर्नुछैन। त्यो वक्तव्यको भाषा हेर्नुभयो भने त्यहाँ नेपालीलाई अपिल छ। विदेशीलाई गाली होइन,’ उनले भने।
उनले छिमेकी मित्र राष्ट्रसँग राम्रो सम्बन्ध होस् भन्ने चाहेको पनि बताए।
‘तर हाम्रोभित्र अनावश्यक चलखेल हामीलाई सह्य छैन। नेपाली जनताको मनोविज्ञान र संस्कार त्यस्तो होइन। त्यसैले त्यो गर्नुपर्ने नै काम थियो,’ उनले भने, ‘संविधान बनाउने, निर्वाचन गर्नेबेलामा वा गठबन्धन बेलामा नै किन नहोस् धेरै अप्ठ्यारो सामना गरेका छौं। जस्तोसुकै त्याग गर्नुपरे सामना गर्छौं भन्ने भावनाबाट आएको हो।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्।