काठमाडौँ: अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार बिहानसम्म ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र ३ जना बालिका रहेका छन् ।
तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पामा ३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २/२ जना, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १/१ जना रहेका छन् ।
बाढीपहिरो र डुबानमा परी ४४ जना घाइते भएका छन् । तीमध्ये २४ जना पुरुष, ११ जना महिला, ६ जना बालक र ३ जना बालिका रहेका छन् । उनीहरूमध्ये तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा ५/५ जना, म्याग्दी, सर्लाही, कास्की र डोटीमा ३/३ जना, जुम्ला र गोरखामा २/२ जना, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १/१ जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।
बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, ६ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना रहेका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।