कञ्चनपुर: कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर शुक्रबार प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका १८ सालघारीमा १७ बर्षिया सन्नी खुनाको महाकालीमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । आईतबार महाकाली नदीमा धार्मिक परम्परा अनुसार खुनाको अन्त्येष्टी गरिएको परिवारजनले जनाएको छ ।
सरकारले खुनालाई शहिद घोषणा गरेपछि परिवारजनले आईतबार बिहान शव बुझ्दै महाकाली अञ्चल अस्पतालबाटै सिधै महाकाली लगेका थिए । मृतक खुनाका बाबु बीर खुनाले दागबत्ति दिदै छोराको अन्त्येष्टी गरेका छन् ।
खुनाको खुट्टा, छातीमा गोली लागेको थियो । शुक्रबार साँझ ५ बजेतिर ट्राफिक चोक क्षेत्रमा गोली लागेका खुनाको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा एक घण्टापछि मृत्यु भएको थियो । उनको मृत्यु भएपछि आन्दोलनमा उत्रेका स्थानीयले प्रहरी, प्रशासन र सरकारी बिरुद्ध नाराबाजी गर्दै शव स्टेचरमा राखेर प्रशासनतिर लगेका थिए । प्रहरीले शव नियन्त्रणमा लिएको थियो ।
प्रदेश नम्बर ७ का प्रदेश सभा सदस्य तारालामा तामाङ्ग, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, बेदकोटका मेयर अशोक कुमार चन्दले मृतक खुनाको पार्थिक शरिरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर मौन धारणा गरेका थिए । नेपाल प्रहरीले ‘शहिद शोक सलामी’ अपर्ण गरेको छ । प्रहरीले (एक चार)को शोक सलामी दिएको हो ।
महेन्द्रनगरमा कफ्र्युका कारण आफन्त, भीमदत्त नगरका कर्मचारी पदाधिकारी केही स्थानीय मात्रै सहभागि भएका थिए । मृतक खुनाका बाबु बीर खुना भीमदत्त नगरपालिकाका कर्मचारी हुन् ।
खुना परिवारलाई भीमदत्त नगरले ३ लाख राहत दिने घोषणा गरेको थियो । बिहीबार प्रहरीले चलाएको गोली लागेर घाईते भएका भीमदत्त नगर–४ का अर्जुन भण्डारा र शुक्रबार गोली लागेर घाईते भएका भीमदत्त नगर–१ भाँसीका उमेश देउवाको काठमाठौँमा उपचार भईरहेको छ ।
स्थानीय प्रशासनले शुक्रबार राती ८ बजेदेखि लागु हुने गरि जारी गरेको अनिश्चितकालिन कफ्र्यु जारी छ । रक्षाबन्धन र जनैपुर्णिमाको अवसरमा बिहान ५ बजेदेखि १० बजेसम्मका लागि हटाईएको कफ्यु पुन १० बजेदेखि लागेको छ । आन्दोलनमा दर्जनौँ घाईते भएका छन् । गत साउन १० गते निर्मला साथी रोशनी बमको घरमा होमवर्क गर्छु भन्दै गएकी थिईन् ।
उनको ११ गते मृत्यु भएको अवस्थामा उखुबारीमा फेला परेकी थिईन् । सरकारले निर्मला हत्याकाण्डको विषयमा लिएर उच्चस्तरिय छानबिन समितिका साथै कञ्चनपुरका प्रहरी प्रमुख, उप प्रमुख, प्रमुख जिल्ला अधिकारीलाई समेत सरुवा गरेको थियो ।