काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो एकता महाधिवेशन आगामी कात्तिकमा गर्ने निर्णय गरेको छ।
राप्रपा अध्यक्षत्रयसहित केन्द्रीय निर्देशन समितिको शनिबार काठमाडौंमा सम्पन्न बैठकले आगामी कात्तिक २७, २८, २९ र ३० गते महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो।
बैठकले महाधिवेशनको तालिका परिमार्जन पनि पारित गरेको विज्ञप्तिमार्फत राप्रपाले जनाएको छ।
जसअनुसार वडा, गाउँ, नगर, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भदौ मसान्तसम्म सम्पन्न राप्रपाको निर्णय छ।
यस्तै, सक्रिय सदस्यता वितरण पनि सोही समयमा सक्ने उसको निर्णय छ।
सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई २०७८ असोज ७ गतेसम्म उपलब्ध गराइने छ।
प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन असोज २० गतेसम्म सक्ने र
असोज १५ सम्ममा प्रदेश कार्यसमितिको निर्वाचन गर्ने उसको कार्यतालिका छ।