काठमाडौं: स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको जलविद्युत आयोजना माथिल्लो तामाकोशीकाे पहिलो युनिटबाट विद्युत उत्पादन सुरु भएको छ।
७६/७६ मेगावाटका ६ युनिट टर्बाइन रहेको कुल ४५६ मेगावाट जडित क्षमताको यस आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाटै स्वीच थिचेर भर्चुअल उद्घाटन गरेसँगै आयोजनाको पहिलो युनिट (७६ मेगावाट) राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
आयोजनाबाट उत्पादित विद्युत गोंगर-खिम्ती-ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ। तामाकोशीबाट उत्पादित बिजुली राष्ट्रिय ग्रीडमा जोड्नका लागि ७६ किलोमिटर खिम्ती–ढल्केबर प्रसारण लाइनको परीक्षण गरेर तयार अवस्थामा राखिएको थियो।
क्रमशः बाँकी युनिटबाट पनि उत्पादन गर्दै लैजाने योजना छ। यही महिनाभित्र दोस्रो युनिट पनि संचालनमा ल्याएर आयोजनाबाट १५२ मेगावाट विद्युत असारभित्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना छ। बाँकी सबै युनिट आगामी वर्षभित्र जोडिसक्ने योजनामा रहेको छ।
उद्घाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठबाट लोडसेडिङ अन्त्य बाह्य आयातबाट गरिएको भएपनि केही समयपछि तामाकोशी पूर्ण क्षमतामा संचालनमा आएपछि आयात प्रतिस्थापनमा सहयोग हुने बताए।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तामाकोशी जलविद्युत आयोजना निर्माण पूरा हुनु ऐतिहासिक उपलब्धी भएको बताए। उनले स्वदेशी लगानीमा सबैभन्दा ठूलो क्षमताको जलविद्युत निर्माणले ठूला आयोजना स्वदेशी व्यवस्थापन तथा प्रविधिमा गर्न सकिने आँट र दक्षता प्राप्त भएको बताए।
उपप्रधान तथा ऊर्जामन्त्री बिष्णु पौडेलले जलविद्युत विकासको इतिहासमा यसले कोसेढुङ्गा गाड्न सफल भएको बताए। स्वदेशी पुँजीमा निर्माण भएको सबैभन्दा ठूलो आयोजनाले अर्थतन्त्रको आकार (जीडीपी) वृद्धिमा १ प्रतिशतको योगदान दिने अनुमान गरिएको पौडेलले बताए।
तामाकोशी जलविद्युत आयोजना नेपालका लागि महत्वपूर्ण पाठशाला भएको बताउँदै उनले भने, ‘यति ठूलो आयोजना निर्माणको अनुभव नेपालसँग थिएन। विभिन्न कारणले अनुमानित लागत र समयभन्दा ढिला गरि निर्माण सम्पन्न भयो। यसमा भएका समस्याहरु अध्ययन गरेर आगामी आयोजनाहरुमा त्यसलाई दोहोरिन नदिने गरि अघि बढ्नुपर्ने हुन्छ।’
विभिन्न प्राविधिक जटिलता झेलेको आयोजना लक्ष्यभन्दा दोब्बर बढी समय लगाएर निर्माण पूरा भएको हो। ५ वर्षमा सक्ने लक्ष्यका साथ २०६७ बाट निर्माण सुरु भएको आयोजना ६ वर्ष ढिला सम्पन्न भएको छ।
२०७२ निर्माण सक्ने लक्ष्य रहेको आयोजना सोही वर्षको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलन तथा भारतीयय नाकाबन्दीका कारण निर्माण सामाग्री अभाव, ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा ढिला भएको थियो।
लट २ को ठेक्का पाएको रतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भइ आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।
भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रुपमा विश्वभर फैलिएको कोभिड–१९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको आयोजनाको भनाइ छ।
लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो ।
माथिल्लो र तल्लो ठाटो सुरुङको बीच भागमा राखिने पेनस्टक पाइपको डिजाइन परिमार्जन र निर्माण सम्पन्न भएर भासिएको प्रसारण लाइनको टावर निर्माणका विषयमा समयमा नै निर्णय लिएका कारण थप ढिलाइ हुनबाट रोकिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ। बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ। निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माण सम्पन्न हुँदा भने करिव ९० अर्ब रुपैयाँ लागत पुग्ने अनुमान गरिएको छ। अहिलेसम्म करिब ८५ अर्ब रुपैयाँ लागत पुगिसकेको छ।