काठमाडौँ: एमाले बनेका रामबहादुुर थापा ‘बादल’लगायत पूर्वमाओवादी नेताहरूले नेकपा माओवादी केन्द्र विघटन गर्न माग गर्दै आज (बुधबार) सर्वाेच्च अदालतमा रिट निवेदन हाल्ने भएका छन्। साथै यस विषयमा आजै निर्वाचन आयोगमा पनि निवेदन दिइने उनीहरूले बताएका छन्।
त्यसअघि उनीहरूले कानुन व्यवसायीसँग छलफल गर्दै छन्।
महाधिवेशन नगरिएको र अन्य प्रक्रियासमेत नमिलाइएकाले माओवादी केन्द्र विघटनयोग्य रहेकाले सर्वोच्च अदालत र निर्वाचन आयोगमा निवेदन दिन लागिएको यो पार्टी छाडेर एमालेमा सामेल नेता प्रभु साहले नेपालखबरलाई जानकारी दिए।
‘यस विषयमा आज कानुन व्यवसायीसँग छलफल राखिएको छ,’ साहले भने, ‘निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्र नामको दल दर्ता खारेजका लागि निवेदन दिन्छौं।’
उनले महाधिवेशन पनि समयमा नगरेको, अन्य कुराहरू नमिलाएकोले माओवादी केन्द्र दल नै खारेज हुने थुप्रै आधार रहेको दाबी गरे।
‘महाधिवेशन टाइममा गरेको छैन, अरू थुप्रै कुरा मिचिएको छ, यो सबै कानुन हेर्ने हो भने दल दर्ता खारेजयोग्य छ,’ साहले थपे।
२०७३ सालमा बादललगायतका १० कम्युनिस्ट पार्टी एकता भएपछि एमाओवादीबाट माओवादी केन्द्र बनेको हो।
त्यसयता माओवादी केन्द्रको महाधिवेशन भएको छैन। एकता प्रक्रिया सकिएलगत्तै स्थानीय तहको निर्वाचन भएको थियो। त्यसपछि भएको प्रदेश र संघीय निर्वाचनमा एमालेसँग कार्यगत एकता भएको थियो। त्यसलगत्तै एमालेसँग पार्टी एकता भएको थियो।
पहिलोपटक गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएयता तत्कालीन गृहमन्त्री बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा तामाङलगायत नेता माओवादी केन्द्र छाडेर एमाले (ओली समूह) मा प्रवेश गरेका हुन्।