काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताएका छन्।
महामन्त्री कोईरालाले पार्टीको क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको बताएका हुन्। विभिन्न जिल्लाबाट उजुरीहरु आएको भन्दै उनले असार महिनाभित्र क्रियाशील सदस्य नटुंगिएमा महाधिवेशन प्रति आशंका पैदा हुने बताए। क्रियाशील सदस्य छिटो टुंग्याउनको निम्ति आफूहरुले भरमग्दुर प्रयास गरेको पनि उनले बताए।
उनले भने, ‘क्रियाशील सदस्य यो महिनाभित्र गर्न सकिएन भने त आशंका भइहाल्यो नि। यति जटिल छ अहिले क्रियाशील सदस्यको बारेमा। ४६ जिल्ला भइसक्यो त्यसमा पनि उजुरीहरू आएको छ त्यसलाई पनि हेर्नुपर्यो। तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैनँ कि टाइममा मै अधिवेशन हुन्छ कि हुँदैन, प्रश्नचिन्ह चाहीँ छ। तर हाम्रो ध्यान त्यतैतिर गएको छ। हामी भरमग्दुर प्रयास गर्दैछौँ क्रियाशीलको छिटो टुंग्याउँ भनेर।’
महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षीय नेताहरुको दौडधुप पनि निकै बढेको छ। बिहीवार नै काठमाडौंस्थित अनुपम फुडल्याण्डमा पौडेल पक्षीय नेताहरुले बैठक गरेका थिए।
रामचन्द्र पौडेल, शशांक कोईराला, शेखर कोईराला, मिनेन्द्र रिजाल लगायतका नेताहरु सहितको बैठकमा पनि पार्टीको क्रियाशील सदस्य कसरी टुंग्याउने भन्ने विषयमा नै छलफल भएको महामन्त्री कोईरालाले बताए। क्रियाशील सदस्य टुंगो नलगाईकन महाधिवेशनमा जान नसकिने उनको भनाइ छ।