काठमाडौँ: मंगलबार ४:५९ मिनेटसम्म प्रधानमन्त्री रहेका एमाले अध्यक्ष्य केपी शर्मा ओलीको किस्सा हिजो साँझबाट सकिएको छ। पदच्यूत भएसँगै उनले सर्वोच्च अदालतको फैसला उनीविरुद्ध आएपछि सडक युवा दस्ता उतारेका छन्। तत्कालिन विपक्षी रहेका र नागरिक आन्दोलनकर्मीलाई अगातर धरपकड गर्दै पक्राउ समेत गरे तर उनका दस्तालाई भने प्रहरीले केही गरेन।
सत्ताच्युत हुनेबित्तिकै अध्यक्ष ओलीले पुनः लडाकु जत्था युथ फोर्स ब्युँताएका छन्। अध्यक्ष ओलीनिकट रहेका युवा संघका इन्चार्ज महेश बस्नेतले काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा युथ फोर्स ब्युँताएको घोषणा गरेका हुन्।
मंगलबार बसेको युवा संघको बैठकले एमालेलाई चौतर्फी घेराबन्दी गरिएकाले त्यसलाई प्रतिकार गर्न युथ फोर्स ब्युँताउने निर्णय गरेको हो।
‘मैले पहिले पनि भनेको थिएँ, युथ फोर्स सिरानीमुनि राखेको खुकुरीजस्तो हो। अफ्ठ्यारो प¥यो भने, संकट प¥यो भने निकालिन्छ भनेर,’ बस्नेतले भने, ‘युथ फोर्स फेरि जन्मिएको छ। यसले एमालेको सिद्धान्त र विचारको रक्षा गर्ने छ।’ यो समूहको पहिलो अध्यक्ष बस्नेत नै थिए।
शान्ति प्रक्रियामा आएको नेकपा माओवादीले गठन गरेको लडाकु जत्था योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको गतिविधिलाई टक्कर दिन नेकपा एमालेले तत्कालीन भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको विभागको रुपमा रहेको युथ फोर्स गठन गरेको थियो।
वाईसीएलको गतिविधिलाई टक्कर दिएको कारण सुरुमा एमाले पंक्ति र राजनीतिक वृत्तमा लोकप्रिय भएको युथ फोर्स पछि विभिन्न घटनामा विवादित बन्यो। त्यसपछि यसलाई विघटन गरिएको थियो।
हाल सांसद रहेका बस्नेत पनि युथ फोर्सको प्रमुख भएपछि चर्चामा आएका हुन्।