काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीको पार्टी अहिले दक्षिणपन्थी अवसरवादको र व्यक्तिवादको प्रतिक बनेको बताएका छन् । सोमबार भारतबाट स्वदेश फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै नेता खनालले सो कुरा बताएका हुन् ।
‘अहिले केपी ओलीको पार्टी भनेको त, दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहंकारवाद र व्यक्तिवादको प्रतिक बनेको छ’ खनालले भने, ‘त्यसैले यसका विरुद्ध हामीले विद्रोह गर्नुपरेको हो ।’ खनालले विद्रोह फुट र विनाश नभएको भन्दै विद्रोह अग्रगतिका निम्ति नयाँ झिल्को भएको पनि बताए ।
उनले नेकपा एमाले दक्षिणपन्थी अवसरवाद पार्टी भएको आरोप पनि लगाएका छन्।
‘केपी शर्मा ओलीको पार्टी भनेको दक्षिणपन्थी अवसरवाद, फुटवादको प्रतिक हो,त्यसैले हामीले त्यसका विरुद्ध विद्रोह गर्नुपरेको हो’, उनले भने, ‘हाम्रो रगत र पसिनाले बनाएको पार्टी भए पनि ओलीले एमालेलाई दक्षिणपन्थी भासमा धकेलिदिनुभएको छ।’
उनले नवौँ महाधिवेशनमा अहंकारी गुटले एमाले कब्जा गरेको पनि बताए। ‘नवौँ महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको छ। त्यहीकारण पार्टीमा चिरा परेको हो’, उनले भने।
उनले अहिले कुनै स्वार्थ नभएका क्रान्तिकारीहरुले एमालेबाट विद्रोह गरेको पनि दाबी गरे। ‘निजी स्वार्थ नभएका क्रान्तिकारीहरूले गर्ने विद्रोहको संख्या कति छ भन्ने कुराको महत्व हुँदैन’, नयाँ पार्टी गठनबारे उनले भने।
केपी ओली नेतृत्वको सरकार बदनाम भएर आफैँ ढलेको समेत खनालले बताए। ‘ओली सरकार ढलेर वामपन्थी र लोकतान्त्रिक शक्तिको गठबन्धन सरकार बनेको छ’, उनले भने, ‘यसलाई राम्रोसँग चलाउनुपर्छ।’
खनालले आफूले अहिले नाफाको जीवन बिताइरहेको बताए। ‘नाफाको जीवन जिउँदैछु। ७१ वर्ष लागिसकेकाले अब कार्यकारी पदमा दाबी गर्दिनँ’, उनले भने, ‘देश, राष्ट्रियता र कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा काम गर्छु।’
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू अब कुनै पनि कार्यकारी पदमा नबस्ने बताएका छन्।
आफूले नाफाको जिवन बाँचेककाले अब कार्यकारी पदको लोभ नगर्ने उनले बताए।
‘म अब कुनै कार्यकारी पदमा दाबी गर्दिनँ। ७१ पार गरिसकेँ, मेरो जीवन नाफाको हो, बोनस हो’, उनले भने, ‘श्वास रहुञ्जेल देश, राष्ट्र राष्ट्रियता, कम्युनिष्ट आन्दोलनको विस्तार र समाजवाद निर्माणमा समय खर्चिन्छु। दीगो शान्ति स्थापना र समाजवादको बाटोमा जीवन समर्पित गर्नेछु।’