काठमाडौँ: नुवाकोटको ओखरपौवास्थित सिसडोलको ल्यान्डफिल साइट पुग्ने सडक मर्मतका लागि अर्थ मन्त्रालयले १ करोड ७० लाख खर्च गर्ने सहमति दिएको छ । सडक विभागलाई विशेष परिस्थितिका लागि भन्दै अर्थले तत्काल काम अघि बढाउने गरी यस्तो सहमति दिएको हो ।
महानगरपालिकाले बुधबारदेखि फोहोर उठाउन शुरु गरेको छ । तर, सडकको अवस्था राम्रो नभएकाले फोहोर बोकेर गएका सवारीलाई ल्याण्डफिल साइटमा पुगेर फोहोर खन्याएर फर्किन कठिन छ ।
काठमाडौं सडक डिभिजन कार्यालयले तत्कालै ल्याण्डफिल साइट जाने फोहोरको थुप्रो हुँदै बनेको सडक मर्मत शुरु गरिने बताएको छ । तर, यसले स्थायी समाधान भने नदिने डिभिजन प्रमुख कुबेर नेपाली बताउँछन् ।
‘तार जाली राखेर गाडी जानसक्ने गरी सडक मर्मत गर्छौं,’ उनले भने, ‘तर, फोहोरमाथि बन्ने सडक भएकाले त्यहाँ जुनसुकै बेला समस्या पर्न सक्छ ।’
डिभिजनले यसअघि पनि सिसडोलबाट नयाँ ल्यान्डफिल साइट बनिरहेको बञ्चरेडाँडासम्म जाने सडक मर्मत गरेको थियो । तर, वर्षायाम शुरु हुनासाथै सडक भासिने समस्या देखिएको थियो ।
फोहोरको थुप्रोमाथि सडक बनाइएको र माथिबाट लिच्चडसहितको फोहोर पानी बगिरहने भएकाले सो ठाउँ हुँदै बनाइएको सडकले स्थायी समाधान नदिने नेपाली बताउँछन् ।
‘हामीले महानगरपालिकालाई बेलिब्रिज राखेर भए पनि फोहोरको थुप्रो छलेर पारिपट्टीबाट सडक बनाएर बञ्चरेडाँडा जाने सडक बनाउन अनुरोध गरेका थियौं,’ नेपालीले भने, ‘तर, महानगरपालिकाले सुनेन, हामीले अहिले गर्ने कामले पनि यो समस्या पूर्ण रुपमा हट्दैन ।’
डिभिजन प्रमुख नेपालीले ल्याण्डफिल साइटसम्मको सडक व्यवस्थापनको काम महानगरपालिकाको भए पनि आफूहरुले सिसडोलबाट बञ्चरेडाँडासम्म जाने विशेष जिम्मेवारी मात्रै लिएको दाबी गरे ।
