काठमाडौँ: एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र प्रदेश एक र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्।
पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टी शक्तिशाली भएको दाबी गरे।
‘एक नम्बर र बागमती प्रदेशमा पनि केपी ओलीका नेतृत्वको सरकार छ। १ नम्बर र बागमतीमा एक हप्ताभित्र सरकार हटाएर हामी सरकार बनाउन गइरहेका छौँ,’ उनले भने, ‘ त्यही भएर यो पार्टी ९ प्रतिशत छ, ५ प्रतिशत छ झुटा प्रचार कसैले गर्छन् भने त्यसलाई नपत्याउनू।’
मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला उनले एक हप्ताभित्र आफ्नो पार्टीको तर्फबाट मन्त्रीहरु पठाउने जानकारी पनि दिए। पाँच दलीय गठबन्धनलाई आउँदो चुनावसम्म बलियो बनाउँदै लैजाने बताउँदै उनले भने, ‘यही हप्ताभित्र हामी केन्द्रीय सरकारमा पनि मन्त्रीहरु पठाउन गइरहेका छौँ।’
उनले एकीकृत समाजवादी पार्टी सातै प्रदेशमा हामी बलियो भएको जिकिर पनि गर्न भ्याए।
‘सुदूरपश्चिम प्रदेशमा सात वटै पार्टीभन्दा हामी एक नम्बर छौँ। २ नम्बर प्रदेशमा केपी ओलीको पार्टीलाई पछाडि धकेलेर हामी एक नम्बरमा उभिएका छौँ। कर्णाली प्रदेशमा हामीले टक्कर दिएर धुलो चटाएका छौँ,’ उनले भने, ‘जहाँसम्म लुम्बिनीमा पनि सरकारमा गइरहेका छौँ। यो गण्डकी प्रदेशमा हामीमाथि भेदभाव गरियो, टिकटबाट वञ्चित गरियो। देशभरका पीडितहरु एकताबद्ध भएका छौँ।’