काठमाडौँ: नेपाल राष्ट्र बैंकले असोज ११ गते सोमबार १२ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
केन्द्रीय बैंकका अनुसार ९१ दिनको अवधिको ९ अर्ब १० करोड रूपैयाँ र १८२ दिनको अवधिको ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । ९१ दिनको अवधिको ट्रेजरी बिल पुस १३ गते र १८२ दिनको अवधिको ट्रेजरी बिल चैत्र १५ गते परिपक्क हुनेछ ।
ट्रेजरी बिल खरीदका लागि बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो ३ बजेभित्र बोलकबोल गर्न सक्नेछन् । उक्त ट्रेजरी बिल असोज १२ गते, मंगलबार जारी हुनेछ ।
प्राप्त बोलकबोलका आधारमा ट्रेजरी बिलको डिस्काउन्टदर कायम हुनेछ । असोज ४ गते बिक्री गरिएको ९१ दिनको अवधिको ट्रेजरी बिलको भारित औषत डिस्काउन्टदर ४.४३५९ र १८२ दिन अवधिान ४.४७२८ प्रतिशत कायम भएको थियो ।
यसअघि राष्ट्र बैंकले असोज ४ गते ११ अर्ब८३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ, १ ८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँ गरी ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको एक साता नवित्दै राष्ट्र बैंकले पुनः ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहुमूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।