काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा सोमबार भण्डारीले उक्त अध्यादेश खारेज गरेकी हुन्।
राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ११४ को उपधारा (२)को खण्ड (ख) बमोजिम भण्डारीले दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गरेकी हुन्।
दल विभाजनका लागि बीस प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित आफैंले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी सरकारले गरेको थियो।
सरकारले गत भदौ १ गते बीस प्रतिशत सांसद वा दलको केन्द्रीय सदस्यहरुले चाहेमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो।
अध्यादेश ल्याएलगत्तै माधव नेपालले नेकपा एमाले विभाजन गरेका थिए भने महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभाजन गरेका थिए।
