काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले नीतिगत अस्थिरताका कारण पुँजीबजारमा उतारचढाव आएको जनाएको छ। पछिल्लो समयमा लगातार सेयर बजार घटेपछि सोमबार विज्ञप्ति जारी गर्दै सेयर बजारको मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायबाट हस्तक्षेप भएको जनाएको छ।
महासंघले राष्ट्र बैंक र धितोपत्र बोर्डले ल्याएका पछिल्ला नीतिका कारण सेयर बजार घटेको जिकिर गरेको छ।
महासंघले भनेको छ-‘बैँक तथा वित्तिय र बीमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, सेयर धितो कर्जामा लगाईएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचीकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पूँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण सेयर बजारमा असर परेको छ।
महासंघले सेयर भदौ पहिलो साता यता समग्रमा पुँजी बजार ओरालो लागेको बताउँदै नीतिगत व्यवस्था संशोधनको लागि आग्रह समेत गरेको छ।
बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयां लगानीका साधन एवं उपकरण बढाउन महासंघले माग गरेको छ।