काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार थपिएका मन्त्रीहरुको अपरान्ह ४ बजे शपथ राखिएको छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) सहितको सत्ता गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार ३ घण्टा छलफल गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति गरेका हुन्।
जसअनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा (एकीकृत समाजवादी)ले ४–४ मन्त्रालय लिने सहमति गरेका छन्। माओवादी, एकीकृत समाजवादी र जसपाले एक/एक वटा राज्यमन्त्री पाएका छन्।।
अहिले मन्त्रालयको संख्या प्रधानमन्त्री सहित २२ छ। संविधान अनुसार २५ वटाभन्दा बढी मन्त्रालय बढाउन पाइँदैन।
माओवादी केन्द्रले अर्थ, उर्जा मन्त्रालय लिइसकेको छ । अब उसको कोटामा शिक्षा, भूमि व्यवस्था तथा सहकारी र खानेपानी मन्त्रालय परेको छ ।
यस्तै एकीकृत समाजवादीले स्वास्थ्यसहित ४ मन्त्रालय पाएको छ । उसले शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको सांसद विरोध खतिवडाले जानकारी दिए ।
प्रधानमन्त्री पाएको कांग्रेसले रक्षा, सञ्चार, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय र उद्योग वाणिज्य तथा आपुर्ति पाएको छ ।
जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण पाएको छ ।