काठमाडौँ: साझा यातायात प्रालिले ४० वटा विद्युतीय बस चिनियाँ कम्पनी सीएचटीसीसँग खरिद सम्झौता भएको छ।
साझाले २६ मार्चमा आह्वान गरेको अन्तर्राष्ट्रिय टेन्डरमा ९ वटा कम्पनीले आवेदन दिएकामा सीएचटीसी कम्पनी छनोट भएको हो।
सम्झौताअनुसार ४ महिनाभित्र पहिलो चरणमा तीनवटा विद्युतीय बस आइपुग्नेछन्। साझाले एउटा बस खरिदका लागि करबाहेक एक करोड ५ लाख खर्चेको छ। कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रतिबस एक करोड ५२ लाख लाग्नेछ।
साझाले ४ महिनाभित्र तीनवटा बस नेपाल ल्याएर परीक्षण सुरु गर्नेछ। सम्झौताअनुसार एक पटक ब्याट्री चार्ज गर्दा २०० किलोमिटर गुड्छ। बसमा १६१ किलोवाट पर आवरको बाट्री जडान गरिनेछ। जुन चार घण्टामा चार्ज हुनेछ।
सरकारले साझालाई ३ अर्ब रुपैयाँ दिएको छ। साझाले त्यसमध्ये पहिलो चरणमा ४० वटा बस खरिदको लागि टेन्डर आह्वान गरेको हो। ४० बस खरिदको लागि ६१ करोड खर्च गर्ने जनाएको छ।
सीएचटीसीका बस नेपालमा दिगो ग्रुपले बिक्री गर्दै आएको छ। दिगो ग्रुपले बिक्री गरेको ५ वर्षसम्म साझालाई दिएका बसको मर्मतसम्भार गर्ने जिम्मा लिएको छ।