काठमाडौं: लगानी बोर्डले दुई वटा जलविद्युत परियोजनाको निर्माण तथा विकास गर्न ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति गरेको छ। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बोर्ड बैठकले यो लगानी स्वीकृत गरेको हो।
दोलखा जिल्लामा रहेको ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको १० अर्ब ५ करोड र ९०० मेगावाटको अरुण ३ जलविद्युत आयोजनाको ६२ अर्ब २६ करोड पुँजी वृद्धि स्वीकृत गरेको हो।
बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको अध्ययन गरेर ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बोर्डसमक्ष पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ।
समितिमा अर्थ मन्त्रालय,उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एकविज्ञ सदस्य रहेका छन्। लगानी बोर्ड कार्यालयका सहसचिव सदस्य सचिवको रुपमा रहेका छन्। माथिल्लो कर्णाली जिएमआरले पाएपनि परियोजना अगाडि बढाउन सकेको छैन्।
बैठकले सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली-१ जलविद्युत परियोजनाको सेयर खरिद विक्री सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री देउवाले विद्युत खपत वृद्धि गर्ने सम्बन्धि दीर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिए।
बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्मा, ऊर्जा मन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, मुख्य सचिव शंकरदास बैरागी, बोर्डका विज्ञ सदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठको उपस्थिती थियो।