सुर्खेत:
मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन्।
नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो। प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको र बाँकी मृतकको सनाखत हुन समय लाग्ने जानकारी दिए।
प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ। यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए।
यसअघि
सुर्खेत: मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।
सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र १० जना भन्दा धेरै घाइते भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । ‘ठूलो दुर्घटना भयो । बस टुक्राटुक्रा भयो । २३ जनाको लास भयो । धेरै घाइते छन् । घाइतेलाई विमानस्थलमा ल्याएका छौं र कतिपयलाई उद्दार गरिरहेका छौं, हामीले प्लेन र हेलिकप्टर मगाएका छौं’ उनले भने ।
उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए । अहिले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।