काठमाडौँ: देशका विभिन्न स्थानमा ठूलो मात्रामा जनधन क्षति हुनेगरी केही दिनदेखि जारी वर्षा आज (बिहीबार) देखि रोकिएको र मौसम सुधार भएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बुधबार रातिदेखि नै धेरै स्थानमा पानी पर्न रोकिइसकेको छ।
‘आजदेखि मौसममा सुधार आइसकेको छ। हिजो (बुधबार) रातिदेखि धेरै ठाउँमा पानी पर्न रोकिइसकेको अवस्था छ। हिजो अस्ति ठूलो वर्षा गराउने प्रणाली बाहिरिसकेकाे छ’, माैसमविद् पाैडेलले बिहीबार भने ‘यद्यपि त्यो ठूलो प्रणाली भएकाले त्यसले छाडेका बादल र जलवाष्पले पहाडी भेगमा छिटफुट वर्षा गराउन सक्छ। तर ठूलो वर्षाको सम्भावना अब छैन।’
उनका अनुसार आज धेरै स्थानमा घाम लाग्ने सम्भावना छ।
हेर्नुहोस् तीन दिनको पूर्वानुमान
२०७८ कार्तिक ०४ गते बिहीबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
२०७८ कार्तिक ०५ गते शुक्रबार
दिउँसो : प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक दुई मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
२०७८ कार्तिक ०६ गते शनिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम हल्का वर्षाको सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
तर हिजो अस्तिकै वर्षाले कतिपय स्थानमा जमिन गलेका हुनाले होसियारी भने अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।