काठमाडौँ: बागमती प्रदेशमा रहेका विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई अगाडि सारेका छन्।
आज प्रदेश सभामा बोल्दै नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले नेकपा (एकीकृत समाजवादी) का नेता पाण्डेलाई गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएको जानकारी गराएका छन्।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेपछि बोलेका माओवादी केन्द्रका संसदीय दलका नेता जमरकट्टेलले मुख्यमन्त्रीमा पाण्डेलाई प्रस्ताव गर्ने निर्णय भएको प्रदेश सभामा बताएका हुन्।
नेकपा एमालेकी नेतृ शाक्य मुख्यमन्त्री भएको दुई महिना भएको छ। उनी अल्पमतमा परेकी छिन्।
उनले गठबन्धनका तर्फबाट नयाँ सरकार बन्ने भएकोले मुख्यमन्त्रीबाट शाक्यले राजीनामा दिनुपर्ने पनि बताएका छन्।