काठमाडौँ: शेयर बजार मापक सूचक नेप्से बढ्ने क्रमले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार ८७.६३ अंकले बढेको बजारलाई पच्छाउँदै मंगलबार पनि नेप्से ७८.८२ अंक अर्थात २.९५ प्रतिशतको उच्च बढोत्तरी भएको हो ।
लाभांश सिजनमा नै निरन्तर घटेर कार्तिक ४ गते बिहीबार २५५६.९५ बिन्दुसम्म नेप्से झरेपछि कारोबारीहरुको प्रवेशले बजारमा उच्च अंकको ‘बाउन्स ब्याक’ देखिएको हो । आइतबार २५.५१ अंकले बढेको नेप्सेमा सोमबार र मंगलबार मात्रै १६६.४५ अंकको बढोत्तरी देखिएको हो ।
मंगलबारको नेप्से वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन सोमबारको तुलनामा २ अर्ब १ करोडले बढेर कुल ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँको शेयर किनबेच भएको छ । अघिल्लो दिन सोमबार ४ अर्ब ३० करोड ८९ लाखको शेयर किनबेच भएको थियो ।
यसदिन कुल २२७ कम्पनीको शेयर कारोबारमा आएकोमा २०६ कम्पनीको मूल्य बढ्यो भने १२ कम्पनीको मूल्य घट्यो भने ९ कम्पनीको मूल्य स्थीर रह्यो । यसदिन १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर ७२ हजार ९७३ वटा संख्यामा खरीद बिक्री भएका छन् ।
यसदिन होटल तथा टुरिजम् इन्डेक्स सर्वाधिक ७.५१ प्रतिशतले बढेको छ भने फाइनान्स ५.६१, लगानी ४.५० र जलविद्युतको इन्डेक्स ४.३३ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक ३.७७, जीवन बीमा ३.३४ प्रतिशत, उत्पादन २.७८, ब्यापार २.७६, निर्जीवन बीमा २.६५, अन्य २.४६ र बैंकिङ २.४४ प्रतिशतले बढेका छन् । त्यस्तै म्युचुअल फण्डको सूचक १.३५ र लघुवित्त १.३० प्रतिशतले बढेको छ ।