काठमाडौँ: साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २ प्रतिशतले बढेको छ । गत साता ९ प्रतिशत बढेको नेप्से वृद्धिलाई साथ दिनेगरी यो साताको पहिलो दिन नै सूचक २ प्रतिशतले वृद्धि भएको हो ।
नेप्सेमा आएको बढोत्तरीले बैंकिङ्ग बाहेक सबै उपसमुहका सूचकमा हरियाली छाएको छ भने कारोबार रकममा पनि वृद्धि भएको छ । कारोबारमा आएका एक दर्जन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढ्दा शेयर बजारका लगानीकर्ता उत्साहित बनेका छन् ।
बजार खुलेको सुरुवाती दश मिनेटसम्म बढेको नेप्से त्यसपछि केही घटेपनि आधाघण्टा नपुग्दै पुनः उकालो लाग्न थालेको थियो । अन्तिममा नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ बिन्दुमा पुगेको हो । नेप्से १.९९ प्रतिशतले बढेको हो । यस्तै, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ९.४६ अंकले बढेर ५३०.४६ बिन्दुमा पुगेको छ ।
यसदिन ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रूपैयाँ बराबरको कारोबार भएको छ । कूल २३२ वटा कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर ८१ हजार ९३५ पटक खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
कारोबारमा आएका २३२ कम्पनीमध्ये १८७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३५ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।
सूचक बढेसँगै आइतबार कारोबार रकममा पनि सुधार आएको छ । गत बिहीबार ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँको शेयर कारोबारमा आएकोमा आइतबार २ अर्ब ४२ करोड ८० लाख रुपैयाँले बढेको हो । यसअघि दैनिक कारोबार रकम ३ अर्ब रुपैयाँभन्दा तल खुम्चिएको बढेर पौन ८ अर्ब पुगेको हो ।
कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये बैंकिङ बाहेक सबै समुहको परिसूचक उकालो लागेको छ । बैंकिङ्ग ०.१६ प्रतिशतले घट्दा विकास बैंक सूचक सर्वाधिक ६.५४ प्रतिशतले बढेको छ । ब्यापार ५.९६, जलविद्युत ५.५०, होटल ५.४४, उत्पादन ४.८८, निर्जीवन बीमा ४.८३, वित्त ३.५३ र लगानी ३.२१ प्रतिशतले बढेको छ ।
आइतबारको बजारमा एक दर्जन कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरै बढेको छ । यसदिन युनाईटेड इन्स्योरेन्स, चन्द्रगिरी हिल्स, सामुदायिक लघुवित्त, हिमालयन उर्जा विकास कम्पनी, लुम्बिनी विकास बैंक, र पाँचथर पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आइतबारदेखि नै कारोबारमा आएको साहस उर्जा, रैराङ हाइड्रोपावर, कामना सेवा विकास बैंक, सानिमा माइ हाइड्रोपावर, सबैको लघुवित्त, र सिनर्जी पावरको शेयरमूल्य ९ प्रतिशत धेरै बढेको हो ।
हिमाल दोलखा हाइड्रोपावर, महुली लघुवित्त, सिभिल लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त, ज्योति विकास बैंक, समता घरेलु लघुवित्त, सिन्धु विकास बैंक, मानुषी लघुवित्त,र युनियन हाइड्रोपावर कम्पनीके मूल्य ८ प्रतिशत धेरै बढेको छ । यसदिन उच्च मूल्य बढ्ने कम्पनीको सूचीमा धेरै जलविद्युत क्षेत्रका कम्पनी रहेका छन् ।