मकवानपुर: मकवानपुरको हेटौँडामा यात्रु बाहक बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा जनकपुरबाट हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बसलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर २ ०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राती १२ः३० बजेको समय एक आपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा बसमा सवार २ जना पुरुष यात्रुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा बसमा सवार हाल नाम थर वतन नखुलेको वर्ष अन्दाजी ३० का २ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनीहरूको हेटौँडा अस्पतालमा उपचारको क्रममा राति साँढे १ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको मृत्यु घोषणा गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
उनीहरूको शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको छ । उनका अनुसार दुर्घटनामा थप १८ जना घाइते भएका छन् । घाइते मध्ये १५ जनाको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा र ३ जनाको हेटौँडा–१ मा रहेको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

