काठमाडौँ :काठमाडौँ उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि तिनबाट हुने दुर्घटनामा कमी आएको छ ।
सवारीसाधनको अत्यधिक चाप रहेको उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि दुर्घटनामा कमी आएको हो । उपत्यकामा चालू आर्थिक वर्षको साउन र भदौमा ती सवारी साधनको दुर्घटनाबाट तीनजनाको ज्यान गएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४/०७५ मा एक हजार ५८० यस्ता सवारी साधनबाट भएको दुर्घटनामा ४५ जनाको ज्यान गएको थियो । जसमध्ये २०७४ को साउन र भदौमा मात्र ती सवारी साधनका कारण सातको मृत्यु भएको थियो ।
टिपर दुर्घटनाबाट पैदलयात्रु र साना सवारी चालकको मृत्युका घटना बढेकाले गृहमन्त्री रामबहादुर थापाले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका थिए ।
साउन १ गते काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म ट्रक तथा टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त दिउँसोको समयमा त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाएकै कारण दुर्घटनामा कमी आएको बताउछन । “रातको समयमा कम सवारीसाधन गुडने र सडकमा मानिसको भीडभाड कम हुने भएकाले दुर्घटनामा कमी आएको हो”, उनि भन्छन “ साँघुरो सडक र बढी सवारीसाधन आवतजावत हुँदा उपत्यकामा धेरै दुर्घटना हुने गरेको हो । ”
चालकको लापर्वाही र तीव्र गतिका कारण नै उपत्यकामा बढी ट्रक र टिपर दुर्घटना हुने गरेको उल्लेख गर्दै लामो समयदेखि मुलुकको सवारी साधन व्यवस्थापनको क्षेत्रमा काम गर्दै आउनुभएका जगतमान श्रेष्ठ भन्छन “ट्रक टिपरका चालकले जति अगाडि देख्छन् त्यति दायाँबायाँ नदेख्दा बढी दुर्घटना हुने गरेको छ ।”