रजैया (मकवानपुर): नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वीय दर्शन र अध्यात्मिक चिन्तनलाई समृद्धिसँग जोड्नुपर्ने बताउनु भएको छ । उहाँले आध्यात्मिकतालाई समाज उपयोगी बनाउनुपर्नेमा जोड दिंदै वैराग्यले विकास हुँदैन भने ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मकवानपुरको मनहरी गाउँपालिकाको रजैयास्थित ओम श्री वातावरण सुद्धिकरण अभियान अग्निहोत्राश्रमको बुधबार भएको सातौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वेदमा विज्ञानको कुरा रहेको र त्यहाँ गरिएको परिकल्पना समाजवादभन्दा फरक नभएको बताए ।
ठूला कुरा गरेर आएकाहरुले सानातिना कुरापनि नगरेको भन्दै वर्तमान सरकारसँग जनता खुशी नरहेको बताउँदै उहाँले काठमाडौँमा धुलो र हिलो देखेर सरकारलाई गाली गर्ने गरेको बताए । उनले भने, सडक निर्माणमा सरकारको ध्यान गएको छ, आगामी तीन महिनाभित्रमा काठमाडौँमा धुलो र हिलो रहँदैन । काठमाडौँसम्म वीरगञ्ज र चीनबाट रेल पु¥याउने प्रक्रिया सुरु भएको बताउँदै नेकपाका अध्यक्ष प्रचण्डले दुईतिहाईको सरकार हुँदापनि भनेको जस्तो काम नभएको भन्ने जनतामा गुनासो रहेको बताए ।
सरकार गठन भएको छ महिना भएको आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै उनले छ महिनापछि सरकारका काम देखिने बताए । नेपालको आध्यात्मिक चिन्तन हाम्रो गौरवशाली ईतिहास भएको भन्दै उहाँले भन्नुभयो, आध्यात्मिक चिन्तनलाई घृणा गर्नु हुँदैन ।
नेपाली समाजले ऐतिहासिक विराशतलाई छाड्दै गएकोले अराजकतातर्फ उन्मुख भएको र पश्चिमा गलत संस्कार र संस्कृतिलाई अनुशरण गरेकोले समाजमा विकृति र विसंगति बढेको भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले आगामी पाँच वर्षभित्रमा एकहजार पक्की पुल निर्माण गर्ने योजना सरकारको रहेको बताए ।
आफू कृषि विज्ञानको विद्यार्थी भएको प्रशंग उल्लेख गर्दै उनले कृषिमा आधुनिकीकरण र वनस्पतिको संरक्षण विना समृद्धि सम्भव नभएको बताउँदै नेपालमा वनस्पतिेका विविधतालाई उपयोग गर्ने र रोजगारीको अवसर सिर्जनागर्ने सम्भावना छ भने ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले सांसदको काम नीति निर्माण गर्ने भएको भन्दै अब विकासले गतिलिने बताए । प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले सबै कुरा भएरपनि नेपाल गरिव भएको बताउँदै सबै आफ्ना कामप्रति जिम्मेवार भएमा नेपाल समृद्धशाली बन्ने बताए । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनता प्रत्यक्ष लाभान्वित हुने विकासको पक्षमा रहेको बताए ।
प्रदेश ३ का प्रमुख विपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले अध्यात्म र विकासलाई जोड्र लैजानुपर्ने बताए ।