काठमाडौँ: झन्डै ४० वर्ष सेनाको जीवनबाट तीन दिनपछि औपचारिक विदाईमा जान लागेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सम्मानमा शुक्रबार सैनिक मुख्यालयले विशेष बिदाई कार्यक्रम गर्दैछ।
कायम मुकायम प्रधानसेनापति पूर्ण चन्द्र थापाले प्रधानसेनापति क्षेत्रीको सम्मानार्थ बिदाई कार्यक्रम राखेका हुन् । कार्यक्रम सैनिक मुख्यालयको हलमा हुनेछ । यसको साथै उनको सम्मानमा विशेष सांस्कृतिक कार्यक्रमकोसमेत आयोजना गर्नेछ ।
कार्यक्रममा अवकासपछिको जीवनको पूर्ण सफलताको कामनासहित प्रधानसेनापति क्षेत्रीलाई थापाले विशेष सम्मानका साथ मायाको चिनोसहित बिदाई गर्नेछन् ।
प्रधानसेनापति क्षेत्रीको सैनिक सेवाअवधि यही भदौ २४ गतेबाट समाप्त हुँदैछ। सरकारले भने रथी थापालाई औपचारिक रुपमा मन्त्रिपरिषद बैठकले प्रधानसेनापति नियुक्त गरिसकेको छ । यस्तै एक महिनाअघि नै क्षेत्रीले आफ्नो सम्पूर्ण कार्यभार थापालाई सुम्पिसकेको छ ।