काठमाडौँ: गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ ।
नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनामा परेको हो ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ ।
हेलिकोप्टरमा सवार व्यक्तिको अवस्था के कस्तो छ भन्ने जानकारी नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । प्रहरी दुर्घटनास्थलतर्फ खटिएको र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त हेलिकोप्टर बिहान ७ः४० बजे सामागाउँबाट काठमाडौँका लागि उडेको थियो ।
यसैबीच, काठमाडौँबाट उद्धारका लागि आएको नेपाली सेनाको एक र निजी वायु सेवा प्रदायक कम्पनीको चार हेलिकोप्टर दुर्घटनास्थलमा घना जंगल र प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्दा काठमाडौँ फर्किएको छ ।

यसअघिको अपडेट
काठमाडौं: गोरखाबाट काठमाडौंका लागि उढेको अल्टिच्युड एयरलाइन्सको सम्पर्क विहिन हेलिकोप्टर धादिङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ ।
फोर्स ल्याण्डिङ हो कि दुर्घटना हो भन्ने खुलेको छैन।
प्रहरी घटनास्थलमा पुगेपछि मात्रै विस्तृत जानकारी आउने गोर्खाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको भनाइ छ ।
गोर्खाको सामागाउँमा पर्यटक छाडेर, त्यहाँबाट बिरामी ल्याएर हेलिकोप्टर काठमाडौं फर्किँदै गर्दा सम्पर्कविहीन भएको थियो । भट्टराईका अनुसार करिब २५ माइल उडेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।
गोर्खाको चुमनुब्री गाउँपालिकाको सामागाउँ मनास्लु क्षेत्रमा पर्दछ ।
हेलिकप्टर पाइलट निशाल केसीले उडाएका थिए । हेलिकप्टरमा चालकसहित ६ जना सवार थिए। जसमा एक जना जापानिज र पांच नेपाली रहेको काठमाडौँ एरपोर्टले जानकारी दिएको छ।
हेलिकप्टरमा सवार यात्रु
१) हिरोमी कोमात्सु वर्ष ६८
२) दोलखाका हिरा शेर्पा
३) गोरखाकी आनी डोल्मा डिकी
४) गोरखाका छोवाङ नोर्बु
५) सिन्धुपाल्चोकका सुनिल तामांङ
६) रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ