काठमाडौँ: पर्साको वीरगन्जमा रहेको इन्टरनेशनल सिमेन्ट प्रालिले आफ्नो कम्पनीबाट उत्पादित ओम ब्रान्डका सिमेन्ट बिक्रीवितरणमा बदमासी गरेको पाइएको छ । उक्त कम्पनीले आफूले उत्पादन गरेको पीपीसी सिमेन्टलाई ओपीसी सिमेन्ट भनेर बेच्ने गरेको भेटिएको हो ।
नेपाल गुणस्तर तथा नापतौल विभागले उक्त कम्पनीबाट उत्पादित ओम सिमेन्टमा बदमासी भएको भन्दै नेपाल गुणस्तर चिन्हसमेत स्थगन गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार ओमको पीपीसी सिमेन्टलाई ओपीसी भन्दै संखुवासभाको खाँदबारीमा बिक्रीवितरण गरिएको भेटिएको हो । एउटा उत्पादनको नाममा फरक वस्तु बेचिएको भेटिएपछि गुणस्तर चिन्ह स्थगन गरिएको पुडासैनीले बताए।
बुलेटमा
–पीपीसी उत्पादन गरेर ओपीसी भन्दै बिक्री
–बोकाको टाउको राखेर बाख्रीको मासु बेचेजस्तै
–ब्रान्ड एम्बेसडर हमाललाई समेत विवादमा पारियो
‘पीपीसी र ओपीसी सिमेन्टका विषयमा अधिकांशलाई थाहा नै हुँदैन । झन् उपभोक्ता आफैले गुणस्तर परीक्षण गर्ने भनेको त टाढाको कुरा हो । यस्तो अवस्थामा इन्टरनेसनल सिमेन्ट प्रालिले ग्रामीण क्षेत्रका सोझा साझालाई बढी झुक्याइएको पाइयो’ – पुडासैनीले भने। ओम सिमेन्टमा भने त्यसको उत्पादनकर्ता कम्पनी इन्टरनेसनल सिमेन्ट प्रालिले उपभोक्तालाई मूल्य र गुणस्तर दुवैमा ठगी गरेको भेटिएको छ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।