काठमाडौँ: नेपाल खाद्य संस्थानले दशैंका लागि राजधानीमा दुई हजार खसीबोका र च्याङ्ग्रा विक्री वितरण गर्ने भएको छ ।
संस्थानले एक हजार खसीबोका र एक हजार च्याङ्ग्रा गरी दुई हजार चौपाया विक्री गर्ने तयारी थालेको संस्थानका प्रवक्ता शंकर सापकोटाले पहिलोक्लिकलाई बताए । संस्थानले घटस्थापनादेखि थापाथली कार्यालयबाट खसी बोका र च्याङ्ग्रा विक्री गर्नेछ।
च्याङ्ग्रा मुस्ताङबाट र खसी बोका दाङ्गको तुलसीपुरबाट र मकवानपुरबाट ल्याइने उनले बताए । गत साल संस्थानले २५ सय खसी बोका र च्याङ्ग्रा राजधानीमा विक्री गरेको थियो ।
यो साल खसी बोका विक्री कार्यक्रमका लागि संस्थानले तीन करोड ४९ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । उनले भने, ” स्थानीय स्तरमा खसी बोका खरिदका लागि सिडियोको सम्मन्वयमा खरिद समिति बनाइने र समितिले निर्धारण गरेको मूल्यमा खसी बोका खरिद गरिन्छ। ”
उनका अनुसार गत वर्षको तुलनामा प्रतिकिलो ५/१० रुपैयाँ महँगो हुन्छ यद्यपी संस्थानले खरिद मूल्य र ढुवानी खर्चका आधारमा विक्री मूल्य तोकिनेछ। संस्थानले नाफाका लागि नभई राजधानीमा निजी क्षेत्रबाट अस्वभाविक वृद्धि हुने मूल्य नियन्त्रणका लागि विगतका वर्ष झैं यो वर्ष पनि कार्यक्रम राखिएको उनले बताए ।
संस्थानले बेच्ने २००० खसीबोका धेरै कम हो तर यस प्रयासले बजारलाई नियन्त्रण गर्न र उपभोक्तालाई सुपथ मूल्यमा खरिद गर्ने वातारण सिर्जना गर्छ। उनले भने, “संस्थानले बेच्ने खसी बोका स्वास्थ्य परीक्षण गरेर मात्रै विक्री वितरण हुने हुँदा उपभोक्ताले स्वस्थ्यकर मासु उपभोग गर्न पाउँछन्। ”
दशैंको समयमा काठमाडौँमा मात्रै ७० हजारको हाराहारीमा खसीबोकाको माग हुनेगर्दछ ।