काठमाडौँ ः तीन सरकारी सञ्चार संस्थानको दुरावस्था र यसलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दुई समिति गठन गरेको छ ।
गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनका नीतिगत, संरचनागत, प्रक्रियागत, प्रविधिगत पक्षका साथै आर्थिक, भौतिक, जनशक्ति व्यवस्थापनलगायतका पक्षमा अध्ययन एवं छानविन गर्न राज्यमन्त्रीस्तरको निर्णयबाट ती समिति गठन भएका हुन् ।
गोरखापत्र संस्थानको अध्ययन एवं छानबिन गर्ने समितिको संयोजकमा विष्णु रिजाल र सदस्यमा सुवास देवकोटा, वासुदेव अधिकारी, टीकाराम राई, डोलप्रसाद दाहाल तथा सचिवमा मन्त्रालयका उपसचिव संगीता ओझा रहेका छन । समितिलाई एक महिनाको समय दिइएको छ ।
यसैगरी, रेडियो नेपाल र नेपाल टेलिभिजनको समष्टिगत सुधार गर्न रघु मैनालीको संयोजनमा गठित समितिको सदस्यमा तपनाथ शुक्ल, यादव चापागाईं र धरणीधर अधिकारी रहेका छन । यो समितिको कार्यावधि एक महिना १५ दिन तोकिएको छ । समितिले अध्ययन तथा छानबिन गरी पेश गर्ने प्रतिवेदनको कार्यान्वयनबाट ती संस्थाको सुधारमा कोशेढुंगा साबित हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।