काठमाडौं : नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को सोमबारबाट ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला हुँदैछ ।
बैंकद्वारा जारी सूचना अनुसार उसले २ः१ अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता सेयर बिक्री गर्न लागेको हो । हकप्रद सेयर भर्ने म्याद असोज ७ गतेसम्मका लागि छुट्याइएको छ । हकप्रद भर्नका लागि साउन १४ गतेसम्म कायम सेयरधनी (सेयरधनी दर्ता किताव भरेका) मात्रै योग्य रहनेछन्।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको प्रधान कार्यालयका साथै यसका सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । बैंकले हकप्रद बिक्रीबाट आएको रकम तरलता व्यवस्थापन, शाखा विस्तारलगायत काममा खर्च गर्ने जनाएको छ ।
गत आर्थिक वर्षमा यस बैंकले १ अर्ब २४ करोड ९ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा छ ।
हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार २०० रुपैयाँ छ । बैंकले यही पुँजीको ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार ३०० रुपैयाँ पुग्नेछ ।
केन्द्रिय बैंक राष्ट्र बैैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन अझै ९८ करोड १४ लाख १२ हजार ७०० रुपैयाँ अपुग हुन्छ। यो रकम अब बैंकले बोनस सेयर दिएर पुर्याउने जनाएको छ।