काठमाडौँ: जताततै स्थानीय निकायहरुले उठाइरहेको करको वृद्धिलाई लिएर विरोध भइरहेको बेला नागार्जुन नगरपालिकाले आइतबार विभिन्न छ वटा शिर्षकमा नि:शुल्क सेवा प्रदान गर्ने जनाएको छ।
नगरपालिकाका प्रशासकीय प्रमुख कृष्ण प्रसाद सापकोटाद्वारा जारी गरिएको सूचनामा नगरपालिकाले राजस्व सिफारिस समितिको भदौ एक गते बसेको बैठकको निर्णय अनुसार विभिन्न शिर्षकमा सिफारिश गर्दा नि:शुल्क सेवा प्रदान गर्ने निर्णय गरेको छ ।
सापकोटाका अनुसार सो निर्णयको बोधार्थ सबै वडा कार्यालयहरुमा निर्णयार्थ पठाइएको छ ।
निशुल्क गरिएका शिर्षकहरुमा — वृद्ध भत्ता सिफारिश, पेन्सनपट्टा, उपभोक्ता समितिको खाता खोल्ने, गरिवी तथा आर्थिक स्थिति कमजोर भएको, छात्रवृत्ति सिफारिश र नागरिकता सिफारिशका— सम्बन्धमा नि:शुल्क सेवा प्रदान गर्ने निर्णय गरिएको छ।
तर नगरपालिकाले अझै विवाह, मृत्यु र बसाईसराई दर्ता लगायत अन्यबारे भने निर्णय गरेको छैन ।
